हामी उठ्ने छौं - बृहत् साँस्कृतिक कार्यक्रम
Date: Sep 21, 2015

हामी उठ्ने छौं - बृहत् साँस्कृतिक कार्यक्रम

विश्व अभियान ‘हामी उठ्ने छौं’को बृहत् सांगीतिक कार्यक्रम हङकङमा हुने भएको छ । ‘निनान्त फरक र विशेष कार्यक्रम’ भनिएको प्रस्तुति युनलङ थेटरमा १ अक्टुबरका साँझ सम्पन्न हुनेछ ।

स्थानीय आयोजक हङकङ नेप्लिज तेक्वान्दो एशोसियसनका अध्यक्ष तथा प्रमुख प्रशिक्षक तुलसीकुमार गुरुङले नेपालका भूकम्पपीडितको सहयोगार्थ राहत संकलन गर्ने क्रममा देश बाहिर रहेका नेपालीहरुले देखाएको एकता र सहयोगको भावनालाई स्थाई रुपले संगठित गर्ने अभियानको उद्देश्य रहेको बताएका थिए ।

‘भूकम्पले देशमा ठूलो क्षति भएको छ तर त्यसको कारण बाहिर रहनेहरुलाई देशका लागि केही गर्ने अवसर प्रदान गरेको छ’, अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा भने, ‘त्यही अवसरलाई एकतृत गर्ने यस अभियानको लक्ष्य रहेको छ ।’

उनका अनुसार अभियानबाट आर्थिक सहयोग संकलनसंगै नेपालप्रतिको माया, ममता र सद्भाव विकासका लागि विविध गतिविधिहरु सञ्चालन हुनेछन् । उनले संकलित रकम भूकम्पपीडितका लागि मात्रै नभएर नेपालको विकासको लागि अन्य क्षेत्रमा पनि खर्च गरिने छ ।

भूकम्पको सन्देशमा आधारित कार्यक्रममा नेपाली चलचित्रकर्मी नायक राजेश हमाल, सरोज खनाल, करिष्मा केसी, दिनेश डिसी, विनय श्रेष्ठ, मेनुका प्रधान,  संगीतकर्मी कोमल वली, दीपक लिम्बू, सञ्चारकर्मी भूषण दाहाललगायतको प्रस्तुति रहने छ ।

क्याम्पेन पार्टनर गैरआवासीय नेपाली संघका अध्यक्ष ललित आङबुहाङ र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुलीसमेत रहेको पत्रकार सम्मेलनमा कार्यक्रमबाट दश लाख हङकङ डलर संकलन गर्ने लक्ष्य रहेको बताइएको थियो । कङ्गन रेष्टुरेण्टमा सम्पन्न पत्रकार सम्मेलनमा कार्यक्रमको पोष्टर सार्वजनिक गरिएको थियो ।